Customer Care: 01-5970971

नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना

 व्यवसायी लक्षित नेपाल लाइफको ‘नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना’, कसरी सहभागि हुने ? के के छन् विषेशताहरु ?

‘आजको बचत र लगानी भोलिको समृद्ध जिन्दगानी’ भन्ने मूल नाराका साथ अगाडि आएको नेपाल लाइफ इन्स्योरेन्सले समयसापेक्ष योजनाहरु सार्वजनिक गर्र्दै आइरहेको छ । कम्पनीले सार्वजनिक गरेका विभिन्न जीवन बीमा योजनाहरु मध्येको अर्को योजना हो, ‘नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना’। 

यो योजना व्यापारिक वर्गलाई लक्षित गरेर ल्याइएको नेपाल लाइफका डेपुटी जनरल म्यानेजर उमापति पोखरेलले बताए । यो एक मनि ब्याक योजना पनि हो । जसमा निश्चित अवधिमा बिमाङ्क रकम (बीमा गरिएको रकम) स्वतः फिर्ता हुने पोखरेलले बताए । 

विशेषत व्यवसायी वर्ग एकै पटक लगानी गर्न चाहँदैन र छिटो लगानी प्रतिफल खोज्ने गर्छ, यस्तो वर्गका लागि यो योजना निकै लाभदायक भएको उनको तर्क छ । थोरै थोरै बुझाउन सकिने र सिमित अवधिमा नै फिर्ता हुने भएकाले यो योजनामा सामेल भई लाभ उठाउन सकिने पोखरेलको भनाइ छ ।

बीमा अवधि (करार) समाप्त हुनु अघि नै ४÷४ वर्षको अन्तरालमा बीमाङ्क रकम फिर्ता हुने भएकाले यस योजना फलदायी भएको उनको दावी छ । यसबाट सिमित वर्षको बीमाशुल्क भुक्तानीमा बीमा अवधिभर जोखिम बहन हुनेछ । जसमा बीमा अवधिभित्र मृत्यु भएमा पुरै बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट पाइने छ । 

साथै, अपाङ्ग अशक्तताको सुविधा पनि दिइएको कम्पनीले जनाएको छ । बीमालेख धितोमा एक वर्षमा नै कर्जा उपलब्ध हुने सुविधा पनि भएको कम्पनीले जनाएको छ । जुन कर्जा अन्य क्षेत्रमा लगानी गरी अर्को लाभ उठाउन सकिन्छ ।

 

‘नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना’का विषेशताहरु
यो जीवन बीमा योजनामा १६ देखि ६० वर्षसम्मका व्यक्तिको बीमा गर्न सकिन्छ । यस योजनाको समाप्ति उमेर ७० वर्ष तोकिएको छ । १०, १५, २० र २५ वर्ष अवधिका लागि बीमा गर्न सकिने भएकाले यसलाई सम्बृद्धिसँग जोडिएको कम्पनीले जनाएको छ । सिमित अवधिमा बीमाशुल्क भुक्तानी गरी बीमा अवधिभर जोखिम बहन हुने भएकाले पनि यो योजना निकै सरल र लाभदायक योजनाअन्तर्गत पर्ने कम्पनीका डेपुटी जनरल म्यानेजर उमापति पोखरेलले बताए । 

यो योजनामा बीमा अवधि समाप्त हुनु अगावै ४–४ वर्षको अन्तरालमा सम्पूर्ण बीमाङ्क रकम फिर्ता भई सक्नेछ । बीमा अवधि समाप्तिमा एकमुस्ट बोनस रकम पनि पाइनेछ । यो योजनामा कर्जाको सुविधा पनि दिइएको छ । बीमा शुरु भएको १ वर्षमा नै बीमालेख धितो राखेर सहजै कर्जा लिन सकिने पोखरेलले बताए । यदि बीमा अवधिमा बीमितको मृत्यु भएमा विभिन्न किस्तामा गरिएको आवधिक भुक्तानी कट्टा नगरी बीमाङ्क र आर्जि बोनस रकम उपलब्ध गराइने पनि उनले बताए । 

यस योजनामा अन्य योजनामा भन्दा थप अपाङ्ग अशक्तता सुविधा पनि उपलब्ध हुनेछ । यसैगरी, बीमाशुल्क एकल किस्तामा मात्र पनि भुक्तानी गर्न सकिनेछ । एकल बीमाशुल्क भुक्तानीमा बीमाङ्कको २.५ गुणा मृत्यु जोखिम बहन हुने पनि कम्पनीले जनाएको छ । 

बीमाशुल्क भुक्तानी अवधि
‘नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना’मा कम्पनीले बीमित जीवित रहेमा बीमा अवधि पुरा हुनु अगावै बीमालेखको शर्त अनुसार बीमाङ्क रकमको निश्चित प्रतिशत रकम बीमितलाई भुक्तानी गरिने र यदि बीमितको बीमा अवधि नसकिँदै मृत्यु भएमा मृत्यु अगाडि बीमितले लिएको रकम समेत नकटाइ आश्रित परिवारलाई पुरै रकम भुक्तानी गरिने कम्पनीले जनाएको छ । 

यस योजना अन्तरगत कम्पनीले बीमितको बीमाको करार अवधि अनुसार बीमा सुरु भएको ४ वर्षदेखि बीमितलाई अग्रिम भुक्तानी दिन थाल्नेछ । जसअनुसार कम्पनीले न्यूनतम १० वर्षको बीमा पोलिसी खरिद गर्ने बीमितलाई पहिलो ४ वर्षको अन्तमा बीमाङ्कको अधिकतम ४० प्रतिशत भुक्तानी दिनेछ भने दोस्रो ८ वर्षमा बाँकी ६० प्रतिशत भुक्तानी दिनेछ ।  

त्यस्तै, १५ वर्षको बीमा करार भएका बीमितले पहिलो ४ वर्षको अन्तमा ३० प्रतिशत, ८ वर्षमा ३० प्रतिशत र १२ वर्षमा बाँकी ४० प्रतिशत अग्रिम भुक्तानी पाउने छन् । त्यस्तै, २० वर्षको करार अवधी भएका बीमितहरुले बीमा भएको पहिलो ४ महिनाको अन्तमा २० प्रतिशत, ८ वर्षमा २० प्रतिशत, १२ वर्षमा २० प्रतिशत र १६ वर्षको अन्तमा बाँकी ४० प्रतिशत भुक्तानी पाउने छन् । 

२५ वर्षको बीमा पोलिसी खरिद गर्ने बीमितले बीमा गरेको पहिलो ४ वर्षको अन्तमा १५ प्रतिशतले, ८ वर्षमा १५ प्रतिशतले, १२ वर्षमा १५ प्रतिशतले १६ वर्षमा १५ प्रतिशतले र २० वर्षमा बाँकी ४० प्रतिशतले पूर्ण बीमाङ्क रकमको अग्रिम भुक्तानी पाउने छन् । 

सो नियमअनुसार यदि बीमालेख चालू रही बीमा अवधि समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमालेख अन्तर्गत बीमाङ्क रकम सर्तमा उल्लेख भए बमोजिमको किस्तामा भुक्तानी दिइनुका साथै आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट दिइने कम्पनीले जनाएको छ । तर, एकल बीमा शुल्क भुक्तानी तरिकामा बीमाङ्कको २.५ गुणाले हुने रकम र आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी गरिने कम्पनीको भनाइ छ ।

यसरी भुक्तानी गर्दा अवधि भुक्तानी बापत प्रदान गरेको रकम कट्टा समेत नगरिने कम्पनीको भनाइ छ । यस्तो योजनामा न्यूनतम १६ वर्षदेखि अधिकतम ६० वर्ष उमेरका व्यक्तिले बीमा योजनामा भाग लिन पाउनेछन् भने बीमा समाप्तिको अधिकतम उमेर ७० वर्षसम्मको छ । यस योजनामा १० वर्षदेखि २५ सम्मको बीमा पोलिसी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

बीमाङ्क रकमको आधारमा छुटको व्यवस्था
यस योजनाअन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार देखि अधिकतम आफ्नो आय स्रोतको आधारमा तय जति पनि गर्न सकिनेछ । साथमा छुटको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा मासिक बीमाशुल्क भुक्तानीमा ५ प्रतिशत छुटको व्यवस्था छ । वार्षिक २ प्रतिशत, अर्ध–वार्षिक बीमाशुल्क भुक्तानीमा १ प्रतिशत छुट मिल्ने पनि कम्पनीले जनाएको छ । यसैगरी, कम्पनीले त्रैमासिक बीमाशुल्क भुक्तानीमा भने छुट नभएको बताएको छ । 

नेपाल लाइफले यस योजना अन्तर्गत बीमाङ्क रकमको आधारमा पनि छुट दिएको छ । 

 

नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना