Customer Care: 01-5970971

नेपाल लाइफ नौलो धनवर्षा बीमा

नेपाल लाइफ इन्योरेन्सले व्यापारिक वर्गलाई लक्षित गर्दै नौलो धनवर्षा जीवन बीमा योजना ल्याएको छ। 

न्यूनतम ५० हजार रुपैयाँदेखि आय स्रोतका आधारमा जति पनि बीमाङ्क रकम राख्न सकिने कम्पनीले जनाएको छ। अन्य बीमा पोलिसीहरुमा १५ वर्षको बीमा गरेको छ भने रिस्क कभर भएपनि उक्त अवधिभर लगातार किस्ता बुझाउनु पर्ने हुन्छ। बीमा अवधि पूरा भएपछि मात्रै बीमाङ्क रकम र बोनस पाउँछ। 

नौलो धनवर्षा जीवन बीमामा १० वर्ष बीमा अवधिको बीमा भुक्तानी हरेक दुई/दुई वर्षमा, १५ वर्षको तीन/तीन वर्षमा, २० वर्षको चार/चार वर्षमा र २५ वर्षको पाँच/पाँच वर्षमा भुक्तानी दिइने नेपाल लाइफ इन्योरेन्सका नायब महाप्रबन्धक उमापति पोखरेलले जानकारी दिए। 

हरेक बीमा अवधिको पहिलो भुक्तानीमा १०%, दोस्रोमा २०%, तेस्रोमा ३०%, चौथोमा ४०% र अन्तिम बीमा अवधिमा कुनै पैसा नतिरी बीमकले बीमा समाप्ति मितिस्वरुप बोनस पाउने पोखरेलले बताए।

नौलो धनवर्षा जीवन बीमामार्फत् उपभोक्ताहरुले १० देखि २५ वर्षको बीमा गर्न सक्ने छन्। साबधिक जीवन बीमा रहेको यो पोलिसीको प्रवेश उमेर १६ वर्षदेखि ६० वर्ष रहेको कम्पनीले जनाएको छ। नेपाल लाइफले ऐच्छिक सुविधा प्रवेश उमेर १६ वर्ष र बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष कायम गरेको छ। 

कम्पनीले बीमा अवधि १०, १५, २० र २५ वर्षको प्याकेज उपलब्ध गराउने जनाएको छ। १० वर्षको बीमा अवधिको बीमा शुल्क भुक्तानी अवधि एकल वा आठ वर्ष, १५ वर्षको एकल वा १२ वर्ष रहने नेपाल लाइफ इन्योरेन्सले जनाएको छ।

कम्पनीले बीमालेख चालु रही बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र बीमालेखले आर्जन गरेको नियमानुसारको बोनस रकम एकमुष्ठ भुक्तानी गर्ने उनले बताए। यसरी भुक्तानी गर्दा पहिले नै भुक्तानी गरेको आंशिक अवधि भुक्तानीको रकम पनि नकाटिने पोखरेलले जानकारी दिए। 

तर, एकल बीमाशुल्क भुक्तानीमा बीमाङ्कको २.५ गुणाले हुने रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी दिने र यसरी भुक्तानी गर्दा अवधि भुक्तानी बापत् प्रदान गरेको रकम नकाटिने बताइएको छ।

२० वर्षको बीमा अवधिको बीमा शुल्क भुक्तानी अवधि एकल वा १६ वर्ष र २५ वर्षको एकल वा २० वर्ष रहने जनाएको छ।

'व्यापारीहरुले आफ्नो व्यापारव्यवसायलाई अघि बढाइरहन चाहन्छन्, सोही समयमा आफ्नो जीवनमा आउन सक्ने आर्थिक जोखिमलाई व्यवस्थित वा हस्तान्तरण पनि गर्न खोज्छन्। यो योजनाले व्यापारी वर्गलाई बीमा अवधिअनुसार निश्चित मितिमा धनको उपलब्धता गराइरहन्छ। रिस्क पनि कभर हुने, व्यवसाय पनि सहज रुपले सञ्चालन हुने पोलिसी हो यो,' पोखरेलले भने।

कम्पनीले बीमा शुल्क भुक्तानीमा छुट दिने योजना पनि लागू गरेको जनाएको छ। वार्षिक बीमा शुल्क भुक्तानीमा २ प्रतिशत, अर्धवार्षिक बीमा शुल्क भुक्तानीमा एक प्रतिशत छुट दिने कम्पनीले जनाएको छ। त्रैमासिक बीमा शुल्क भुक्तानीमा कुनै छुट नदिने जनाएको कम्पनीले मासिक बीमा शुल्क भुक्तानीमा भने थप पाँच प्रतिशत छुट दिने जनाएको छ। 

यस्तै, कम्पनीले बीमाङ्क रकमको आधारमा पनि छुट दिने जनाएको छ। कम्पनीले पाँच लाख एक हजारदेखि २५ लाखसम्म प्रतिहजारमा ५० पैसा छुट दिनेछ। २५ लाख एक हजारदेखि ५० लाखसम्म प्रतिहजारमा एक रुपैयाँ, ५० लाख एक हजारदेखि एक करोडसम्मको बीमाङ्क रकममा प्रतिहजार एक रुपैयाँ ५० पैसा छुट दिने कम्पनीले जनाएको छ।

एक करोड एक हजारदेखि माथि सबै बीमाङ्क रकममा प्रतिहजार दुई रुपैयाँ छुट दिने नेपाल लाइफले जनाएको छ।

कम्पनीले यस बीमा योजना अन्तर्गत रहेको ऐच्छिक सुविधामा दुर्घटना लाभ, बीमा शुल्क छुट र अशक्त सुविधा समावेश गरेको जनाएको छ। ऐच्छिक सुविधा मूल बीमालेखको बीमाङ्क बराबर वा अधिकतम एक करोड रुपैयाँसम्म लिन सकिने जनाएको छ। 

अन्य सुविधाहरुमा कम्पनीले ऋण तथा समर्पण मूल्क एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी भएको बीमालेखको हकमा बीमा प्रारम्भ भएको मितिको एक वर्ष पूरा भएपछि समर्पण मूल्क र ऋण पाउन सक्ने जनाएको छ। 

एकल बीमा भुक्तानीबाहेक अन्य बीमा शुल्क भुक्तानीको हकमा बीमालेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भएपछि मात्रै समर्पण मूल्य तथा कर्जा पाइने कम्पनीले जनाएको छ।

नेपाल लाइफ नौलो धनवर्षा बीमा