Customer Service: 01-5970971 (Sun-Sat | 9:00 AM - 6:00 PM )  / 9801170971 Email: customer.service@nepallife.com.np

Customer Care: 01-5970971

News & Updates

नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवनको समुद्घाटन

5 June 2023

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको समुद्घाटन गरेको छ । मिति २०८० जेठ २२ गते आयोजित एक भव्य कार्यक्रम बीच यस कम्पनीका संचालक समितिका सदस्यहरु श्री कमलेश कुमार अग्रवाल, श्री विमल प्रसाद ढकाल र श्री कृष्णराज लामिछाने, यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख श्री केशव प्रसाद दाहालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्घाटन गर्नु भएको छ ।

 

करिव ३,२२० वर्ग फीटमा फैलिएको उक्त भवनको उद्घघाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख, विभिन्न संचार माध्यमका प्रतिनिधि, बीमा अर्भिकर्ता तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । यस सुविधा सम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने छ । यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्री अमित कुमार कयालले उपस्थित सबैलाई स्वागत गनुभएको थियो । 
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका संचालक समितिका सदस्य श्री कमलेश कुमार अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षले गदगद भएको बताउनुभयो । निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य शहरहरुमा घर जग्गा खरिद गर्ने योजना सहित कार्यारम्भ गरिसकेको बताउनु भयो । अग्रवालले २०७२  मा  संविधान जारी भए पश्चात नेपालले संघियताको ढाँचा अवलम्बन गरेको र यसैलाई मुर्त रुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको कुरा बताउनुभयो ।  गण्डकी प्रदेशको साक्षरता दर, कुल ग्राह्यस्थ उत्पादनमा गरेको योगदानका लागि गण्डकी प्रदेश वासीलाई धन्यवाद ज्ञापन गर्नुभयो । बीमा क्षेत्रमा गण्डकी प्रदेशद्वारा गरिएको योगदानको मुक्तकण्ठले प्रसंशा गर्नुभयो ।  नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा नेपालको जनसंख्याको करिव १० प्रतिशत जनतालाई जीवन बीमा सम्बन्धि सेवा प्रवाह गर्दै नेपाली जीवन बीमाको क्षेत्रमा विभिन्न सुचाकहरुको आधारमा अब्बल रहदै आफुलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा नेपाल लाइफ स्थापित रहेको कुरा सगौरव बताउनुभयो ।  
शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख श्री  केशव प्रसाद दाहालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताउनु भयो । प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रिय कार्यालयबाट प्रदान गरिने सेवाहरु स्थानिय  ठाउँबाट प्रदान गर्न सके बीमा सचेतामा बढ्न गई बीमा प्रति मान्छेको आकर्षण बढ्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । बीमा क्षेत्रमा नेपाल बीमा प्राधिकरणले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा सबै सरोकारवालाहरुले हातेमालो गरेर अगाडी बढ्नुपर्ने सारगर्भित विचार व्यक्त गर्नुभयो । 
कार्यक्रममा बोल्दै संचालक समितिका सदस्य श्री विमल प्रसाद ढकालले बीमा व्यवसाय आफ्नो सिमा आफै तोकेर गर्न सकिने व्यवसाय रहेको र यस क्षेत्रमा प्रचुर सम्भावना भएको हुनाले आफ्नै गाउँ ठाउँमा रहेर स्वरोजगार हुन इच्छुक व्यक्तिहरुको लागि यो क्षेत्र एकदमै लाभदायी तथा सम्मानजनक रहेको गहन विचार अभिव्यक्त गर्नुभयो ।

समारोहमा बोल्दै यस कम्पनीका संचालक समितिका सदस्य श्री कृष्णराज लामिछानेले नेपालको सुन्दर नगरी पोखरामा कम्पनीले भवन लिई त्यस क्षेत्रका आम नागरिकलाई जीवन बीमा सम्बन्धि सम्पूणर् सुविधा प्रदान गर्न नेपाल लाइफ अग्रसर भएको देख्दा गौरवान्वित महशुस भएको बताउनु भयो ।  नेपाल लाइफको काठमाडौँ उपत्यका बाहिर पोखराको भवन पहिलो रहेको तथा यसले कम्पनीको विश्वसनियता बढी बीमा बजारको विकाशमा टेवा पुग्ने बताउनुभयो ।  हरेक घरमा एक बीमाको आवाधारणलाई मुर्त रुप प्रदान गर्नुका साथ साथै गरिब, सिमान्तकृत समुदायलाई बीमाको दायरा भित्र ल्याउनका निम्ति राज्यले बीमामैत्री नीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिनुभयो । 
समुद्घाटन समारोहका सभापति तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण रमण पराजुलीले पोखरामा घर खरिद गरि सेवा प्रवाह गर्नु रणनैतिक रूपमा एकदमै महत्वपुणर् रहेको बताउनु भयो ।  आगामी दिनहरुमा कम्पनीलाइ थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताउनु भयो । नेपाल लाइफसँग अहिलेको अवस्थामा चुनौतिका साथसाथै प्रशस्त अवसरहरु समेत रहेको कुरा बताउनुभयो । प्रादेशिक कार्यलयको स्थापना संगै प्रशासनिक कार्यहरुको विकेन्द्रीकरण संगै सेवा प्रवाह थप सरल, सहज र प्रभावकारी हुने विश्वास व्यक्त  गर्नु भयो ।  प्रादेशिक कार्यालय हुनुले कार्यसम्पादन सहज हुन गई बीमा बजारको बजारीकरण, बीमा सचेतना  तथा बीमा बजारमा स्वस्थ प्रतिस्पर्धा हुने र ग्राहकहरुले गुणस्तरीय सेवा प्राप्त गर्नेमा आफु ढुक्क रहेको बताउनुभयो । कार्यक्रमको संचालन यस कम्पनीको गण्डकी प्रदेशका प्रमुख श्री अनन्त अधिकारीले गर्नुभएको थियो ।