Customer Service: 01-5970971 (Sun-Sat | 9:00 AM - 6:00 PM )  / 9801170971 Email: [email protected]

Customer Care: 01-5970971

News & Updates

जीवन बीमा यसरी बुझौ।

18 December 2022

'हातगोडा चलुन्जेल कमाउने-खाने, मरेपछि जो सुकै राजा !,' हाम्रो समाजमा प्रचलितमध्येको भनाइ हो यो। तर परिवार यति भनेर चल्दैन। दुर्घटना होलान्, आर्थिक क्षति होलान्, तपाईले त्यसका लागि के सुरक्षा उपाय अपनाउनु भएको छ? तपाई परिवारका लागि ऋणको बोझ थोपरेर जान्छु भन्ने ठान्नु हुन्छ? होइन भने बीमा गर्नु भयो? जीवनबीमा छ?

धेरैले यसबारे सोचेका भेटिन्नन्। जब ठुला आर्थिक संकटमा जीवनबीमाको मद्दत पाएकाहरुका कुरा सुन्न मिल्छ, अनि बल्ल हामीलाई त्यो चेत प्रष्ट हुन्छ। अब हामीले यसबारे बुझ्नुपर्छ। नेपालको परिवेशमा बीमाचेतना निकै कमजोर छ। कतिपयले बीमालाई ‘फजुल खर्च’ भनेर बुझेको देखिन्छ। तर, यथार्थ बिलकुलै फरक छ। आज बीमाको छातामुनि बस्नेले भोलि आफ्नै जीवनकालमा आइपर्न सक्ने अप्ठेरोरूपी वर्षामा बलियो ओत प्राप्त गर्छ।

 

प्रख्यात चिनियाँ अर्बपति ज्याक माले जीवनबीमाबारे निकै घतलाग्दो कुरा गरेका छन्। उनले भनेका छन्, ‘बीमा गर्नाले तपाईको जीवन परिवर्तन हुन्छ भन्न सकिँदैन, तर यसले तपाई र तपाईको परिवारको जीवन दुःखी हुनबाट रोक्छ। घरमा कोही एकजना बिरामी पर्दा परिवारको सबै बचत रित्तिन सक्छ, तर बीमाले उपचारको बिलबाट हामीलाई दशकौंदेखि बचाइरहेको हुन्छ। तपाईं बीमा गर्नाले टाट पल्टिनु हुन्न, तर नगर्नाले आफ्ना प्रिय मानिसलाई तपाईंले टाट पल्टाइदिन सक्नुहुन्छ।’ ज्याकका यी भनाइले पनि बीमा हाम्रो जीवनमा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा छर्लङ्ग पारिदिएको छ।

 

शिक्षा, स्वास्थ्यका साथै स्तरीय जीवनयापन हरेक मानिसको ध्येय हुने गर्छ। अहिलेको समयमा त्यसलाई आधारभूत आवश्यकताका रुपमा हेर्न थालिएको छ। एउटा अभिभावकले आफ्ना सन्ततिले राम्रो शिक्षालयमा पढ्न पाउन्, आवश्यक पर्दा स्तरीय स्वास्थ्य सुविधा मिलोस् भन्ने अपेक्षा अवश्य गर्छ। पछिल्लो समय शिक्षा र स्वास्थ्य निकै महँगो बनेको छ। आममानिसले स्तरीय ढंगमा शिक्षा प्राप्त गर्न र स्वास्थ्योपचार पाउन कठिन बन्दै गएको छ। तर, जीवनबीमाले यो कठिन कार्यलाई निकै सहज पारिदिन सक्छ। हामीले सोचेअनुरुपको शिक्षा र स्वास्थ्य सुविधा प्राप्त गर्न बीमा नियमित सारथि बन्न सक्छ।

 

जीवन जति अनिश्चित छ, त्यो भन्दा बढी जोखिमहरुले भरिएको छ। हामीले जीवनमा जोखिमहरुका बीचमा रहेर थुप्रै निश्चित र उपलब्धिमूलक काम गर्नुपर्ने हुन्छ। जोखिमसँग जुध्दै वा त्यसलाई न्यूनीकरण गर्दै लक्ष्यमा पुग्नुपर्ने हुन्छ। ती कामहरु पूरा गर्न र लक्ष्य प्राप्तिका लागि सर्वप्रथम बलियो आर्थिक आधार आवश्यक पर्छ। एउटा निश्चित आर्थिक लक्ष्यको अभावमा कुनै पनि काम पूरा गर्न सकिँदैन। र, त्यस्तो लक्ष्य पूरा गर्न जीवनबीमा सबैभन्दा भरपर्दो आधार बन्न सक्छ ।

 

सबै मानिसले जागिरे जीवनबाट सेवानिवृत्त भएपछि मासिकरूपमा पेन्सन पाउँछन् भन्ने छैन। कतिपय मानिसको सेवानिवृत्त जीवन उसै पनि आर्थिक रूपमा अनिश्चित बन्दै गएको हुन्छ। बुढ्यौली अभिशाप बनेको पनि हामीले देखेका छौं। तर, जीवनबीमा गर्नेले एउटा निश्चित अवधि पुरा भएपछि जागिरबाट पेन्सन पाएजस्तै मासिक/वार्षिक रूपमा रकम प्राप्त गर्न सक्छ र जीवन सार्थक बनाउन सक्छ। आर्थिक निश्चितताले बुढ्यौली बरदान साबित हुन सक्छ। बीमा एकप्रकारले बचत पनि हो, यसले सन्तानको शिक्षादीक्षामात्रै नभएर बीमितकै विभिन्नखाले आर्थिक आवश्यकतालाई पूरा गर्न मद्दत गर्छ।

 

करोडौं मानिसको ध्यान आकृष्ट गर्न सफल विश्वकप फुटबल-२०२२ चलिरहेको छ। जसरी सर्वाधिक गोल गर्ने टोलीले जित हात पार्छ र विश्वकपको सुन्दर ट्रफी उचाल्छ, उसैगरी जीवनमा पनि आर्थिक गोल (लक्ष्य) पुरा गर्न सक्नेले मात्रै सफलता पाउँछ, जीवन सुन्दर बनाउन सक्छ। बीमामार्फत् आज गरिएको स-सानो लगानीले भोलि ठूलो प्रतिफल प्राप्त गर्न सकिन्छ।
हरेकखालका काममा जोखिम हुन्छन्। त्यस्तो जोखिमको भार कम गर्न पनि बीमाले मद्दत गर्छ। एकप्रकारले, बीमा आर्थिक जोखिम व्यवस्थापनका लागि महत्त्वपूर्ण सहयोगी बन्दै आएको छ।

नेपालको परिवेशमा अझै पनि बीमाचेतना निकै कमजोर छ। त्यसैले जीवनबीमा गर्नुलाई ‘मरेपछि सन्तानले फिर्ता पाउने रकम’का रूपमा बुझ्ने गरिएको छ। कतिपयले बीमालाई ‘फजुल खर्च’ भनेर पनि बुझेको देखिन्छ। यथार्थ बिलकुलै फरक छ। आज बीमाको छातामुनि बस्नेले भोलि आफ्नै जीवनकालमा आइपर्न सक्ने अप्ठ्यारोरूपी वर्षामा बलियो ओत प्राप्त गर्छ। बीमाले आयलाई सुनिश्चितता त प्रदान गर्छ नै, साथमा हाम्रो आम्दानीमा लाग्ने करसमेत बचाइदिन्छ।

 

एकातिर बीमा ऋणको विकल्प हो भने अर्कोतिर यसले जीवनका विभिन्न क्षणमा गर्नुपर्ने खर्चलाई योजनाबद्ध बनाउन पनि मद्दत गर्छ। हामीले जोडेका बहुमूल्य सम्पत्तिको सुरक्षाका खातिर पनि बीमा अत्यावश्यक कवच कर्म हो।

सन्तानको भविष्यलाई लिएर चिन्ता नगर्ने अभिभावक को नै होला र ! सुखद जीवनको सपना नदेख्ने कोही हुँदैन। सपना साकार पार्न जीवनबीमाको बाटो सर्वाधिक उपयुक्त हुन सक्छ। जीवनबीमाबाट प्राप्त हुने आर्थिक सुरक्षा अन्य कुनै पनि खालका लगानीले दिन सक्ने देखिँदैन। जब मानिसले आर्थिकरूपमा आफूलाई सुरक्षित देख्छ, तब उसको जीवन सुखी हुन थाल्छ।

सन्तानको भविष्यसमेत सुरक्षित हुने भएपछि मानिस तनावमुक्त हुन थाल्छ। जीवनमा आर्थिक स्वतन्त्रता सर्वाधिक महत्त्वपूर्ण छ, यस्तो स्वतन्त्रता केवल बीमाले दिन सक्छ। जीवनबीमाले घटना/दुर्घटनामा मात्रै राहत दिने होइन, यसले हरेक क्षण हामीलाई साथ दिइरहेको हुन्छ।

 

यो एउटा यस्तो लगानी हो, जुन कुनै पनि परिस्थितिमा डुब्दैन। व्यापार, व्यवसाय वा अन्य कुनै पनि लगानीमा प्रतिफल निश्चित हुँदैन। त्यो लगानीले प्रतिफल (रिटर्न अन इन्भेस्टमेन्ट) दिन पनि सक्छ, नदिन पनि सक्छ। तर, जीवनबीमामा गरिएको लगानी डुब्दैन। यसले निश्चितरूपमा आकर्षक प्रतिफल दिन्छ।

हाम्रा वरिपरि जोखिमहरु छन्, असफलता पनि छन्। कतिपय अवस्थामा यी जोखिम र सम्भावित असफलताहरुले हाम्रो मनोविज्ञानमा असर गरिरहेका हुन्छन्। नदेखिएका चुनौतीहरुले मानसिक, शारीरिक र मस्तिष्कलाई कमजोर पारिरहेका हुन्छन्। हाम्रो मानसिक तनाव बढाइरहेका हुन्छन्। तर, जब मानिसले सम्भावित जोखिम र असफलताबाट बच्न बीमा गर्छ, तब उसले मानसिक शान्ति अनुभूत गर्न थाल्छ। त्यसैले बीमाले अन्य कुनै पनि कुराले दिन नसक्ने मानसिक शान्ति र आत्मविश्वास प्रदान गर्छ।

जीवन अनिश्चित छ र हामी अनिश्चिततामा बाँचेका छौं। यो अनिश्चिततालाई निश्चितता परिणत गर्ने काम बीमाले गर्दछ। घटना वा दुर्घटनाले सानो-ठूलो, धनी-गरिब, योग्य-अयोग्य केही भन्दैन। घटना अचानक हुन सक्छ। त्यो सदस्य, जसको कमाइमा परिवारको चलेको हुन्छ,  यदि त्यही आयआर्जन गर्नेको मृत्यु हुन्छ भने परिवारको आश्रितहरुलाई आर्थिकरूपमा निकै अप्ठ्यारो पर्न सक्छ।

 

त्यसैले हरेकले बीमा गरेर बस्नु पर्छ। बीमा वास्तवमा दुःख र सुखको साथी पनि हो। यो एक आर्थिक 'ब्याकअप' हो।
(उमापति पोखरेल - नेशनल सेल्स हेड - नेपाल लाइफ इन्स्योरेन्स )